शुभकामना !
डा. शैलेन्दुप्रकाश नेपाल
नुवाकोट जिलाको थानसिङ, छहरेमा अवस्थित ज्योतिकुञ्न एकेडेमीमा संसाक मासिकका सम्पादक साहित्यकार उमेश पाण्डेको संयोजनमा ‘विद्याथीसँग साहित्यकार : विमर्श र साक्षात्कार’ शीर्षकमा अन्तर क्रिया कार्यक्रम सञ्चालन गरियो । २०८२ पुस ४ गतेका दिन विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा अतिथि वक्ताहरू डा.शैलेन्दुप्रकाश नेपाल, डा. दामोदर पुडासैनी, शिक्षासेवी प्रेम राई परीक्षित, कवि दिनेश पाण्डे, स्रष्टाहरू तारा के.सी., अञ्जना पौडेल, पार्वती पुडासैनीलगायतबाट बालसाहित्यका विषयमा आआफ्ना धारणा राखी रचना वाचनसमेत गरियो । छात्रछात्रा दिपेश पाठक, सुप्रिम पाठक, रेस्मा सिलवाल, कुसुम बस्याल आदिले कविता वाचन गरे । प्राचार्य रविन्द्र डंगोलको सभापतित्व एवम् डा.शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमबाट विद्यार्थीहरू अत्यधिक लावान्भित भएको अनुभव गरियो । यसअघि बालसाहित्यका विषय तथा सम्पादन कला बारे विद्यार्थीहरूसँग समूहगत रूपमा अन्तरक्रिया सञ्चालन गरिएको थियो ।
विद्यालयमा बालसाहित्यको पहुँच र प्रभाव बारे प्राचार्यसहित शिक्षकशिक्षिकाहरूसँग छलफल पनि गरियो । यसबाट बालासाहित्य, बालबालिकाको सर्वाङ्गीण व्यक्तित्व विकासमा सहायक बन्ने हुनाले यसको अपरिहार्यता रहनेतर्फ सङ्केत गरियो ।
भविष्यका कर्णधार बालबालिकाको सिर्जनात्मक प्रतिभा विकासका निम्ति विद्यालयले समुचित वातावरण निर्माण गर्नुपर्छ । त्यस दिशामा ज्योतिकुञ्ज एकेडेमी, यसका प्रिन्सिपल रविन्द्र डंगोललगायत सम्पूर्ण शिक्षक चिन्तनशील र क्रियाशील रहेको अनुभूति सँगालियो । आगामी दिनमा यस पक्षमा अझ प्रभावकारी ढङ्गले योजना बनाई त्यसको कार्यान्वयन हुन सकोस् भन्ने हार्दिक कामना गर्दछु ।
२०८२ पुस १५ गते ।
टोखा–४, वसुन्धरा, काठमाडौं ।


प्रतिक्रिया दिनुहोस्: