शुभकामना !
संसाकको शिखरयात्रा !
संस्कृति, साहित्य र कला केन्द्रित राष्ट्रिय मासिक ‘संसाक’ पत्रिका १४ वर्षको सङ्घारबाट अघि बढिरहेको हेर्दा मनमा विशेष खुशीको सञ्चार भएको छ ।
यो आत्मप्रशंसा मात्र होइन, यथार्थ हो, राम्रो काम गरेकोलाई आवश्यकता अनुसार प्रशंसा गर्नु नराम्रो पनि होइन । विगत १३ वर्षको अवधिमा अनेकौँ हण्डर भोग्दाभोग्दै पनि संसाकले नेपाली वाङ्मयको क्षेत्रमा कयौँ उज्याला र आशालाग्दा कामहरू पनि अभियानकै रूपमा अघि बढाएको छ । नेपाली साहित्यको उन्नयन, सांस्कृतिक दायरा बढाउँन खेलेको भूमिका र कला क्षेत्रको सम्वद्र्धनमा संसाकले कयौपटक नेतृत्वदायी भूमिका खेलेको हामी सबैसामु छर्लङ्ग छ । शहरका भव्य प्रेक्षालयमा मात्र नभै देशका गाउँ गाउँमा पुगेर स्थानीय र राष्ट्रिय स्तरका स्रष्टाहरूको सम्मिलन गराई अनेकौँ सिर्जनशील कार्यक्रमहरू सम्पन्न गरेर पनि संसाक मासिक सबैको प्रिय बन्न सफल भएको छ ।
अर्को खुशीको कुरा संसाक अब सीमित कागजी पानामा मात्र नभै डिजिटल पत्रिकाको रूपमा समेत अघि बढेकोले विश्वका कुना कुनामा स्रष्टा, विज्ञापनदाता, पाठक सबैसँग जोडिने भएको छ । यसले नेपाली साहित्य, संस्कृति र कलासँग विश्व वाङ्मयको हातेमालो बढाउन समेत ठूलो सफलता मिलेको छ ।
पत्रिका निरन्तर रूपमा प्रकाशित गरिरहनु निकै कठिन काम हो । स्तरीय पत्रिका प्रकाशित गरिरहनु र त्यसबाहेक पत्रिकाकै आयोजनामा देश तथा विदेशमा अनेकौँ गोष्ठी, कार्यक्रम, स्रष्टा यात्रा र स्थानीय सहभागितामा सिर्जनशील कार्यक्रमहरू आयोजना गरिरहनु झन् गाह्रो काम हो । तर, संसाक पत्रिकाका सम्पादक/प्रकाशक उमेश पाण्डेको दृढ अठोट, लगनशीलता र कामप्रतिको लगावको कारण यो संभव भएको छ । त्यसबाहेक यस पत्रिकासँग सम्वद्ध सबैको मिहिनेतलाई पनि सराहना नगरी रहन सकिँदैन । संसाकको शिखरयात्रामा हामी सबै साक्षी बन्ने अवसर मिलेको छ । सबैलाई शुभकामना !
डा.दामोदर पुडासैनी किशोर
सल्लाहकार
संसाक मासिक
२०८३, असार ३० गते ।


प्रतिक्रिया दिनुहोस्: